एमाले सरकार गठनकाे दाैडमा छैन, देशमा सङ्कट देखा परे कांग्रेससँग सहकार्य हुनसक्छ : सुरेन्द्र पाण्डे

सेयर गर्नुहोस

चितवन – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ ।’ अहिलेको चुनावले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दिने गरी काम गर्न नसक्ने उहाँको भनाइ थियो ।

देशमा आर्थिक र राजनीतिक सङ्कट देखा परे कांग्रेस र एमालेबीच सहकार्य हुनसक्ने उहाँले बताउनुभयो । चुनावमा नागरिकले पुराना ठूला पार्टीलाई सजग गराउन खोजेको भन्दै उपाध्यक्ष पाण्डेले अब ठूला पुराना पार्टी सच्चिनुपर्ने अवस्था आएको बताउनुभयो । ‘एमाले र कांग्रेस सच्चिनुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनता हिजोदेखि स्थापित पार्टीको पक्षमा देखिए पनि खबरदारी गरेको पाइयो ।’ तत्काल वाम एकता सम्भव नरहेको उपाध्यक्ष पाण्डेको भनाइ छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति सहज नहुने उहाँले बताउनुभयो ।

Facebook Comments Box