हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने

सेयर गर्नुहोस

हेटौंडा : हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने भएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले आर्थिक वर्ष २०७८\७९ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच सम्झौता भएको छ।

अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। मंगलबार हेटौंडा अस्पतालमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, स्वास्थ्यमन्त्री निमा लामासहितको उपस्थितिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले यो वर्ष आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

Facebook Comments Box