विवाह भोज खाएका पाल्पाका ८० जनाभन्दा बढी बिरामी

सेयर गर्नुहोस

पाल्पा : विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन्।

पाल्पाको बगनासकाली गापा-१ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका हुन्। मंसिर १७ गते शनिवार चिर्तुङधारास्थित विवाहमा भोज खाएकाहरू बिरामी परेको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालले जानकारी दिए।

घोरबन्दा गाउँका ताराबहादुर गाहा, रिखीराम गाहा, दलबहादुर गाहा, गुनबहादुर गाहा लगायत दर्जनभन्दा बढी परिवारका सबै बिरामीलाई सोमवार जाँच गरिएको स्वास्थ्यचौकी प्रमुख बस्यालले बताए।

बिरामी भएकाहरूलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने लगायतका समस्या देखिएको थियो। स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि २२ जना बिरामीको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भएको वडाध्यक्ष शेरबहादुर रानाले जानकारी दिए।

वडाध्यक्ष रानाका अनुसार विवाह भएको घरमा गएर भोज खाने प्रायः सबै बिरामी परेका हुन्। प्यूठान नगरपालिका–६, गुरुङ गाउँबाट जन्ती गएका उनीहरू बिरामी भएका थिए। कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन्।

Facebook Comments Box