मधेशी समुदाय लक्षित अभद्र शब्द प्रहार गरे कडा कारवाही हुने : मधेशी आयोग
काठमाडौं ।
मधेशी आयोगले मधेशी समुदाय माथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ | आयोगले एउटा प्रेस विज्ञप्ति निकाल्दै विगत केही समय देखी मधेशी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोति जस्ता घाैच्याउने खालका अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्था माथि नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने बताएको छ |
विज्ञप्तिमा आयोगले यस्ता अमानवीय, गैर-संबैधानिक तथा गैर-कानुनी कार्यले राष्ट्रिय एकतामा समेत असर पुर्याउन सक्ने बताएको छ | आयोगले मधेशी समुदायले नै मुख्यतः सिमा को रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय समयमा यस्ता घटनाहरु बाट पीडित हुनुपर्ने कुरा प्रति चिन्ता व्यक्त गरेको छ |
आयोगले आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका सदस्यहरु बाट यस्ता संवेदनशील घटनाहरु को अनुगमन हुने गरेको र सो घटना प्रति आयोगले तुरन्त सम्बन्धित निकायलाई यथाशिघ्र छानविन गरी दोषीलाई कडा कारवाही गर्न सिफारिस समेत गरिरहेको बताएको छ | आयोगको सिफारिस पश्चात सम्बन्धित निकायले सो घटनाहरु माथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको बताएको छ | आयोगले यस्ता घटनाहरुको उजुरी आयोगमा विभिन्न माध्यमहरु बाट दिन समेत अनुरोध गरेको छ |
