धनगढीमा ग्रेडरको ठक्करबाट किशोरीको मृत्यु
धनगढी : धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिएपछि एक किशोरीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना१क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत किशोरी साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
उनका अनुसार किशोरी साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो।
ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय विमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरिरहेका छन्।
Facebook Comments Box
