म्याग्दीमा आठ मतदान केन्द्रको जिम्मा महिलालाई

सेयर गर्नुहोस

म्याग्दी : जिल्लाका आठ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन्। जिल्लाका १२० मतदान केन्द्रमध्ये आठ वटामा महिलालाई मतदान अधिकृत तोकिएको हो।

निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगरपालिका २ कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीसमेत महिला तोकिएको छ।

‘निर्वाचन गराउने कर्मचारी छनोट गर्दा महिला कर्मचारीलाई प्राथमिकतामा राखेका थियौँ। मतदान अधिकृत भएर जान इच्छुक महिला कर्मचारीलाई हामीले खटाएका हौँ’, सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले भने।

सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार मुक्ति मार्ग मावि, घार (ख) केन्द्रमा प्रतिज्ञा सुवेदी, ताकम मावि, ताकम (क) केन्द्रमा लालमाया छन्त्याल, रामचन्द्र मावि, अर्जममा करुणा कार्की, राष्ट्रिय मावि नेप्टेचौर (ख) केन्द्रमा साधनाकुमारी श्रेष्ठ र जनप्रिय मावि दरवाङ (क) केन्द्रमा उमादेवी कँडेललाई निर्वाचन अधिकृत तोकिएको छ।

त्यसैगरी हिमाल आधारभूत विद्यालय पात्लेखेतमा शान्ति खत्री, अस्थायी केन्द्र कारागारमा अम्बिका शर्मा र मंगला मावि बावियाचौर (ख) केन्द्रका लागि पवि थापालाई मतदान अधिकृतको जिम्मा दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान गराउने नेतृत्व पाएपछि महिला कर्मचारी उत्साहित भएका छन्। जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको तालिममा सहभागी मतदान अधिकृत अम्बिका शर्माले मतदान गराउने मुख्य भूमिका पाएकोमा आफूलाई खुशी लागेको बताइन्।

मतदान केन्द्रलाई अपांगमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई निर्देशन दिएको छ। सहायक निर्वाचन अधिकृत पौडेलले भौगोलिक अवस्था अनुसार स्थानीयवासीको सहयोग लिएर मतदान केन्द्रलाई सकेसम्म अपांगमैत्री बनाउन मतदान अधिकृतलाई निर्देशन दिइएको बताए।

Facebook Comments Box