नक्कली सुनका गहना धितो राखेर २४ लाख कर्जा निकालेका युवक पक्राउ

सेयर गर्नुहोस

पर्वत : नक्कली सुनका गहनालाई धितोका रूपमा राखेर बैङ्कहरूबाट कर्जा निकालेका एक युवालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा बस्दै आएका २५ वर्षीय अभिसेक सुनारलाई पक्राउ गरिएको हो।

सुनारले विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गरगहनाहरू धितोमा राखेर पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड कास्कीबाट १६ लाख ६० हजार रुपैयाँ पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडबाटै ७ लाख ४५ हजार रुपैयाँ गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएको खुलेको छ।

लामो समयसम्म पनि कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि उनले धितोमा राखेका गरगहनाप्रति शङ्का लागेर जाँच गर्दा ती गरगहनामा कमसल सुन प्रयोग भएको पाइएको छ।

धितोमा राखिएका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा परीक्षणको लागि पठाइएकोमा सङ्घले गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने परीक्षण प्रतिवेदन दिएको थियो।

घटनाको बारेमा जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो। उनका विरुद्ध कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिएका छन्।

Facebook Comments Box