सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ।
गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो। नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो।
आइतबार जसपाका नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका हुन्।
सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशासनको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ। पोखरेलले मन्त्री कार्कीले स्थानीय तहका जनप्रतिनिधि, सञ्चार मन्त्रालय र अर्थ मन्त्रालय मातहतका कर्मचारीसमेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिएको बताए। ‘उहाँले आचारसंहिताको ठाडो उल्लंघन गर्नुभएको छ। उहाँले प्रशासनको दुरुपयोग गर्नुभएको छ । प्रहरी प्रशासन सबै मुकदर्शक भएका छन्’, उनले भने, ‘उहाँले आचारसंहिता पालना नगर्ने हो भने अरुले के गर्ने?’
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त गरेको जानकारी दिए। ‘विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी नै छ’, उनले भने, ‘अध्ययन गरेर कारबाही प्रक्रियामा जान्छौँ।’
