गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कार्यकक्षमै थुने

सेयर गर्नुहोस

रौतहट : रौतहटको पालिकामा विकास निर्माणको कार्य अगाडि नै बजेट निकासा हुने गरेको पाइएको छ।

जिल्लाको विभिg\g पालिकाले विकास निर्माणको कार्य अगाडि नै बजेट निकासा गरिरहेको आरोप लाग्दै आएको हो। आइतबार निर्माण कार्य अगावै बजेट निकासा गर्न खाजेको भन्दै रौतहटको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले कार्यकक्षमै थुनेका छन्।

जिल्लाको गरुडा नगरपालिका वडा नं—६ मा सडक निर्माणको क्रममा व्यापक गुनासो बढेपछि पूर्व वडाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा स्थानीयको एक समूहले निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवको कार्यकक्षमै तालाबन्दी गरेर थुनेका हुन्।

काम सम्पन्न नभएपछि अनुगमनको सबै प्रक्रिया पूरा गरी भुक्तानीको लागि फाइल तयार भएको सुनेपछि स्थानीयबासी आक्रोशित भएका थिए। आक्रोशित स्थानीयवासीले उपभोक्ता समितिका अध्यक्ष भनुराय यादव र वडाध्यक्ष रामबाबु साहलाई योजनाबारे सोध्दा गोलमटोल जवाफ दिएपछि निमित्त प्रशासकीय अधिकृत यादवलाई सोधेका थिए।

यादवले योजनाको अनुगमन भइसकेको र सम्पन्न भइसकेको योजनाको भुक्तानीको लागि प्रक्रिया अगाडि बढिसकेको बताएपछि आक्रोशित स्थानीयवासीले कार्यालय प्रमुख यादवलाई कार्यकक्षमै थुनेका थिए।

सहरी मन्त्रालयबाट गत जेठ असार महिनामा ग्रावेल गरिएको ठाउँमा नै ग्रेडर लगाएर अलिकति गिटी बालुवा राखेर ३८ लाख रुपैया हिनामिना गर्न खोजेको र प्रशासकीय अधिकृत यादवको मिलोमतोमा नै सबै काम भएको पूर्व वडाध्यक्ष यादवले बताए।

कार्यालय प्रमुख यादवलाई कार्यकक्षमै तालाबन्दी गरी थुनेपछि इलाका प्रहरी कार्यालय गरुडाले पहल गरी वातावरण शान्त बनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण बहादुर सिंहका अनुसार पहिले गरिएको भनिएको अनुगमनलाई रद्द गरी भुक्तानीको प्रक्रिया तत्काललाई रोक्का राख्ने र दुवै पक्षको सहमति भएपछि कामको अनुगमन गरेर भुक्तानी दिने सहमति भएको छ।

दुवै पक्षको सहमति भएपछि कार्यालय प्रमुखलाई बाहिर निकालिएको छ।

Facebook Comments Box