धनगढी पुगे एमाले अध्यक्ष ओली, अब डोटी जाने

सेयर गर्नुहोस

धनगढी : राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम पुगेका छन्।

शनिबार बिहान १२ बजे ओली सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढी ओर्लिएका हुन्। श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आएका छन्।

अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार आज केहीबेरमै डोटीको दिपायलमा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ओली केहीबेरमा धनगढीबाट डोटीतर्फ जानेछन्।

यस्तै त्यहाँबाट फर्केर कैलालीस्थित गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने छन्।

गोदावरीको अत्तरियामा २ बजे र लम्की चुहाँको लम्कीमा ४ बजे आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ। यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन्।

यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए। भारतले कब्जा गरेको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन्।

Facebook Comments Box