गृहजिल्लामा देउवाको व्यस्तता : ८ वटा चुनावी सभालाई सम्बोधन गर्ने

सेयर गर्नुहोस

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा ८ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जिल्लाका ७ वटै स्थानीय तहमा आयोजना गर्ने सभालाई गर्ने भएका हुन्।

 

देउवा कात्तिक १७ गते आफ्नो निर्वाचन क्षेत्र आउने कार्यक्रम छ। देउवाले १७ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ।

कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

देउवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ।

देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए।

२०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका उनी २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए।

त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा समेत गरी उनी पाँचौं पटक देशको प्रधानमन्त्री भएका छन्। यसटकको चुनावमा देउवालाई पहिलोपटक कम्युनिस्ट पाटीले पनि साथ दिएका छन्।

अहिले देउवाविरुद्ध लामो समय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (विपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

मल्ललाई नेकपा एमालेको समर्थन हुने बताइएकोमा एमालेले तालमेल तोडेको घोषणा गरिसकेको छ। उनी अहिले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशीसँग चुनावी तालमेल गर्दै प्रचारमा व्यस्त छन्।

गुल्मीबाट आएर देउवाविरुद्ध उमेदवारी दिएका इन्जिनियर ढकाल पनि एकल प्रचारप्रसार गरिरहेका छन्।

 

Facebook Comments Box