गोरखा–२ : सय वर्षे उम्मेदवारसँग आशीर्वाद लिन घरमै पुग्नुभयाे ‘कान्छा उम्मेदवार’ अब्दुस मियाँ

सेयर गर्नुहोस

गोरखा – गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस (वीपी) पार्टीका उम्मेदवार टीकादत्त पोखरेलले आज सोमवार सयौँ जन्मदिन मनाउनुभयो । परिवारका सदस्यसहित छरछिमेक र आफन्तको चाँजोपाँजोमा पोखरेलको पुर्ख्याैली घर सिरानचोक गाउँपालिका ४ छोप्राकको माझगाउँबेसीमा जन्मोत्सव कार्यक्रम गरिएको हो । घरआँगनमा बिहानैदेखि छरछिमेक र आफन्तको आउजाउ चलिरहेको थियो, पाहुनाका लागि खानपानको प्रबन्ध पनि मिलाइएको थियो ।

विसं १९८० कात्तिक १४ गते जन्मिनुभएका पोखरेल आफूलाई घरमै भेट्न पुगेका पाहुनाको स्वागतसँगै शुभकामना सन्देशसहित मोबाइलमा आएका टेलिफोन कुराकानीमा पनि व्यस्त हुनुहुन्थ्यो । छिनछिनको फुर्सदमा उहाँ आफ्नो राजनीतिक यात्रासँगै एक सय वर्षको उमेरमा पनि किन उम्मेदवार बन्नुपरेको हो भनेर बताइरहनुभएकाे थियो । २००४ सालमा सरकारी सेवाको जागिरबाट विद्रोह गरेर राणाशासनविरुद्धको राजनीतिमा लाग्नुभएका पोखरेल भन्दै हुनुहुन्थ्यो, ‘अहिलेको राजनीति हेर्दा र उति बेला किन राणाशासनको विरोध गरिएछ भने जस्तो पनि लाग्छ, अहिलेको ठूला पार्टीका ठूला भनिएका नेता र त्यति बेलाका राणाशासक उस्तै–उस्तै लाग्छ ।’ अहिले पनि जनताको हित हुने खालको राजनीतिक प्रणाली विकास भइनसकेको उहाँको भनाइ छ ।

तत्कालीन जनयुद्ध र आन्दोलनपछि पनि देशले उपलब्धि पाउन नसकेपछि सय वर्षको उमेरमा पनि आफूले उम्मेदवारी दिएको पोखरेलले बताउनुभयो । सय वर्षका पोखरेलले उम्मेदवारी दिएको क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एमालेबाट २८ वर्षका युवा अब्दुस मियाँ पनि उम्मेदवार छन् । उम्मेदवारी दिएपछि अर्का प्रतिस्पर्धी प्रचण्डसँग भेटघाट र कुराकानी भएको छ त ? भन्ने प्रश्नमा पोखरेलले कड्किँदै भन्नुभयो, ‘म उनलाई भेट्न जान्नँ, उनी पो मलाई भेट्न आउनुपर्ने होइन र ?’ ।

नजिकै प्रचारप्रसार कार्यालय उद्घाटन गर्न पुग्नुभएका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने जन्मदिनको शुभकामना दिन भन्दै पोखरेलको घरमै पुग्नुभयाे । ढाकाको टोपी र मखमलको पछ्यौरा ओढाएर शुभकामना दिँदै मियाँले सञ्चो–बिसञ्चो सोध्नुभयाे र चुनावका लागि आशीर्वाद पनि माग्नुभयाे । ‘छोरा–नाती उमेरकाहरूसँग चुनाव लड्न त मलाई पनि रहर होइन’, मियाँलाई पोखरेलले भन्नुभयो, ‘नागरिकता देखाएर मात्रै पनि सिंहदरबार छिर्न पाउने व्यवस्था गर्ने खालकाे एजेन्डा हुनुपर्‍याे ।’ पोखरेलका एजेन्डाका विषयमा एमाले उम्मेदवार मियाँले तत्काल केही प्रतिक्रिया दिनुभएन तर जन्मदिन मनाइरहेका पोखरेलसँग चुनावी जितका लागि ‘आशीर्वाद’ लिएर फर्किनुभयाे ।

सञ्चारकर्मीसँग मियाँले भन्नुभयाे, ‘यत्तिको उमेरमा पनि देशको राजनीतिका विषयमा चासो लिने मात्रै होइन, त्यसलाई आफैँ सक्रिय भएर सुधार गर्छु भन्ने उहाँको हिम्मतले मलाई पनि प्रेरणा दिएको छ ।’

Facebook Comments Box