सबैलाई समेटेर घोषणापत्र बनाएका छौँ : विश्वप्रकाश शर्मा
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजकि कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताउनुभएको हो । उहाँले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्त्व गराएको बताउनु भयो ।
उहाँले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्नेकुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गर्नुभयो । महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गर्नुभयो । महामन्त्री शर्माले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महामन्त्री शर्माले आउँदाे चुनावपछि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ पार्टी लाग्ने बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनः संरचना गर्ने, पुँजीगत बजेट कसरी खर्च गर्ने र ठूला पूर्वाधारको निर्माणमा नेपाल २४ सै घण्टा जागा छ भन्ने कुरा पनि घोषणापत्रमा रहेको उल्लेख गर्नुभयो । उहाँले वार्षिक २ लाख ५० हजार रोजगारी सिर्जना र ५ वर्षमा १२ लाख भन्दा बढी रोजगारी सिर्जना गरेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महामन्त्री शर्माले सार्वजनिक पद धारण गरेको हरेक व्यक्तिले प्रत्येक वर्ष सम्पति विवरण सार्वजनिक गर्नुपर्ने र त्यसको लागि बाध्यकारी कानून निर्माण गर्ने बताउनुभयो । उहाँले सरकारी कार्यालयमा रहेका प्रशासनिक झन्झटलाई अन्त्य गर्ने, शहरी क्षेत्रको फोहोरको समस्यालाई दीर्घकालीन समस्या समाधान गर्ने, भूमिहीनहरुको समस्या समाधान गर्ने र सामाजिक विसंगति अन्त्यको दशकको रुपमा देशलाई लैजाने कुरा घोषणापत्रमा समावेश गरिएको बताउनुभयो ।
