डाक्टर कुटिएपछि गाेरखा अस्पतालकर्मीले मागे सुरक्षा

सेयर गर्नुहोस

गोरखा – गोरखा अस्पतालका मेडिकल अफिसर डाक्टर अविनाश पराजुलीलाई युवाहरुको एक समूहले कार्यकक्षमै कुटपिट गरेपछि अस्पतालकर्मीले सुरक्षाको प्रत्याभूति मागेका छन् ।

आइतवार दिउँसो पौने ५ बजेतिर ओपिडीमा ड्युटीमा रहेका पराजुलीलाई ३ जना युवाको समूहले कुटपिट गरेका हुन् ।

थाइराईडको नियमित परिक्षणका लागि आएकी एक महिलालाई डाक्टर पराजुलीले यसअघि परिक्षण गरिएको रिपोर्ट ल्याउन भनेको तर बाहिर निस्किएकी ती महिलाले ३ जना युवा बोलाएर कुटपिट गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

उनीहरुले डाक्टर पराजुलीले काम गरिरहेकोे ओपीडी कक्षको ढोका बन्द गरेर कुटपिट गरी भागेको जानकारी आएको उहाँको भनाइ छ ।

माथिल्लो तलामा रहेको ओपीडी कक्षमा डाक्टरलाई कुटपिट गरेपछि उनीहरु अस्पताल परिसरमा पार्किङ गरिएको मोटरसाइकल चढेर भागेका थिए ।

कुटपिटमा संलग्न तीन जनाको नाम सहित अस्पतालकातर्फबाट कारबाहीका लागि निवेदन परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

गोरखा नगरपालिकाका मिलनसिं कुँवर, समीर कुँवर र अनुप बस्नेतले चिकित्सक पराजुलीलाई कुटपिट गरेको अस्पतालले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

कुटपिटमा संलग्नमध्येका समीर कुँवर अस्पतालमा थाइराइडको उपचार गराउन आएकी महिलाका श्रीमान रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।

महिला प्रहरीको सम्पर्कमै रहेको डिएसपी लामिछानेले बताउनुभयो । घटनाको दोस्रो दिन दिउँसोसम्म पनि प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।

गोरखा अस्पतालका कर्मचारीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा त्यस घटनाले प्रदेशकै नमुना अस्पताल बनाउन लागिपरेका कर्मचारीहरुको मनोवल गिरेको उल्लेख छ ।

दोषीलाई कारबाहीको दायरामा नल्याउँदासम्म चरणवद्ध रुपमा विरोधका कार्यक्रम ल्याउने विज्ञप्तिमा भनिएको छ ।

तिहार बिदाका कारण हाल ओपिडी सेवा बन्द छ । तर विरोधका कार्यक्रम तय गर्दा मानवीयतालाई ख्याल गर्दै आकस्मिक सेवा भने बन्द नगर्ने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो ।

 

Facebook Comments Box