इमरान खानलाई पाँच वर्ष चुनाव लड्न प्रतिबन्ध
इस्लामावाद ।
पाकिस्तानको निर्वाचन आयोगले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारबारे गलत जानकारी दिएको भन्दै आयोगले यस्तो निर्णय लिएको हो ।
निर्णय लिइनुअघि आयोगले पाँच सदस्यीय बेन्च गठन गरेको थियो । सो बेन्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री शहबाज शरिफको दल मुस्लिम लिग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज राँझाले संविधानको धारा ६३ (२) अनुसार इमरान खानले उपहारबारे ढाँटेको भन्दै संघीय संसद्का सभामुखसमक्ष उजुरी दिएका थिए ।
इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको, तर निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप लगाइएको थियो ।
सोही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेन्चले इमरानले पाँच वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो । आयोगले गरेको फैसलाअनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुनेछ ।
पूर्वक्रिकेट कप्तानसमेत रहेका इमरान क्रिकेटबाट सन्न्यास लिएपछि राजनीतिमा लागेका थिए । पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।
एक साताअघि भएको उपचुनावमा उनी सात ठाउँबाट संघीय संसदको उम्मेदवार बनेकोमा ६ क्षेत्रमा निर्वाचित भएका थिए । उनी यो फैसलाविरुद्ध सर्वोच्च अदालत जाने सम्भावना रहेको बताइएको छ ।
