ओलीसँगको टेलिफोन संवादमा सर्वसाधारणका थरीथरीका इच्छा
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले सर्वसाधारण नागरिकसँग चार घण्टा कुराकानी गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आज नागरिकहरुसँग फोन संवाद गरेका हुन्।
संवादका क्रममा पार्टी र व्यक्तिगत कुराकानी गरेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। टेलिफोन संवादका क्रममा फरकफरक केही अनौठो पनि भएको छ। अध्यक्ष ओलीले फोन गर्ने क्रममा ‘केपी ओली रैछ रेकर्ड गरौं रेकर्ड!’ भन्ने आवाज सुनिएको बजगाईंले बताए।
ओलीसँग नागरिक संवादलाई उद्धृत गर्दै बजगाईंले भने, ‘तपाईंसँग धेरै अपेक्षा छ। तपाईंले राम्रै गर्न खोज्नुभएको थियो। तर, सफल भएन।’
संवादका क्रममा कतिपयले देशमा व्याप्त भ्रष्टाचारलाई कसरी अन्त्य गर्नुहुन्छ? भनेर प्रश्नसमेत सोधिएको बजगाईंले बताए। ओलीको सचिवालयले नागरिकसँगको संवादलाई विस्तृत रुपमा सार्वजनिक गर्नेसमेत तयारी गरेको छ।
अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग बुधबार नाम र नम्बर टिपाउन आव्हान गरेका थिए। दुई दिनमा करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए।
ओलीले गोलाप्रथा प्रणालीबाट छान्दै सम्पर्क गरेका थिए। पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज शुक्रबार दिउँसो १ बजेदेखि ओलीले नागरिकका प्रश्नको जवाफ दिन सुरु गरेका थिए।
