मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्।
अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे।
वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताए। ओलीले भने, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन । यसलाई काम गर्ने फुर्सद नै छैन । त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो । अब मंसिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ।’
अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोपसमेत लगाए। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले आफूहरुले निर्वाचन आचारसंहिता विपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए। एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरु प्रतिबद्ध रहेको दोहोर्याए।
अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताए। उनले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताए।
