सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुका पदमार्ग, चौतारा तथा होटल पर्यटकले भरिए
सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले भरिन थालेको छ ।
सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् ।
यतिबेला सोलुखुम्बुको खुम्बुक्षेत्र पुग्ने पर्यटक दिनहुँ बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि लुक्ला पुगेका छन् ।
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरु पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।
नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनु्सार होटल व्यवसायी निक्कै व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल लजहरु पर्यटकले नै भरिभराउ बनेका छन् ।
दशैँको बेला परेको झरीका कारण उडान नहुँदा पर्यटक आउन सकेका थिएनन् । मौसममा सुधार भएसँगै पर्यटकको लर्को लाग्न थालेको हो ।
लुक्लामा अहिले दैनिक ३२ वटा भन्दा बढी उडान हुने नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताउनुभयो ।
खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।
सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायको भनाइ छ ।
लामो समय कोरोना कहरको चपेटामा परेको खुम्बुको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किएसँगै होटल, व्यवसायीदेखि पर्यटन व्यवसायीहरु उत्साहित छन् ।
