मनसुनी वर्षाले दाङमा ४ हजार ७ सय परिवार प्रभावित

सेयर गर्नुहोस

दाङ – दशैँ अवधिभर परेको पानीले दाङमा चार हजार सात सय ४४ परिवार प्रभावित भएका आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

वर्षापछिकाे बाढी, पहिरो र डुबानले एक हजार पाँच सय ६६ घर बस्नै नमिल्ने गरी भत्किएको र तीन हजार एक सय ७८ घर केही मात्रामा भत्किएको तथ्याङ्क अहिलेसम्म सङ्कलन भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयाे ।

बाढी र पहिरोमा परी नाै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै बाढी र डुबानमा परी झन्डै दुई हजार सात सय पशुचौपाया मरेका र एक हजारभन्दा बढी घाइते भएका तथ्याङ्क आएकाे सहायक प्रजिअ अधिकारीले बताउनुभयाे ।

दाङका १० पालिकामध्ये देउखुरीका चार वटा पालिकामा सबैभन्दा बढी क्षति भएको छ । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घरमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवार विस्थापित भएका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा तीन सय २५, बङ्गलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४ र राप्ती गाउँपालिकामा एक सय २० घर भत्किएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा ९७, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दङ्गीशरण गाउँपालिकामा ३० घरमा क्षति पुगेकाे छ ।

बाढी, पहिरो र डुबानमा परेर पीडित भएकाहरूलाई राहत वितरणको काम पनि चलिरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । अहिलेसम्म १७ लाख रुपियाँभन्दा बढीकाे राहत वितरण भइसकेको र वितरण कार्य जारी रहेको कार्यालयले जनाएको छ । राहत वितरणमा एकरूपता कायम गर्न सम्बन्धित क्षेत्रको पालिकाबाट मात्रै राहत वितरण गर्ने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

बाढी र डुबानले किसानले लगाएका धानबालीमा पनि ठूलो क्षेति पुर्‍याएकाे छ । अन्य क्षेतिको विवरण सङ्कलन भएरहेको सम्बन्धित पालिकाहरूले जनाएका छन् ।

Facebook Comments Box