संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस भारतमा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुगेको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन्।
महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए।
जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि गुटेरेसको यो पहिलो भारत भ्रमण हो। उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए।
भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ‘ट्यागलाइन’को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामेल सहभागी हुनेछन्।
विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्नेछन्।
