आईटीएफ तेक्वान्दोमा ७४ पदकको टुंगो लाग्यो
बागलुङ : नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बागलुङमा जारी आईटीएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुंगो लागेको छ। मंगलबार साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो।
प्रतियोगितामा ११ स्वर्ण, सात रजत र दुई कास्यसहित विभागीय टिम नेपाल आर्मी अगाडि छ। प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले पाँच स्वर्ण, पाँच रजत र एक कास्य जितेको छ । पाँच स्वर्ण, दुई रजत र दुई कास्य लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ ।
लुम्बिनी प्रदेशले एक स्वर्ण, चार रजत र आठ कास्य हासिल गरेको छ। प्रदेश नं १ ले दुई स्वर्ण, तीन रजत र तीन कास्य जितेको छ । विभागीय टिम सशस्त्र प्रहरी बलले पदक तालिकामा एक स्वर्ण, दुई रजत र तीन कास्य बनाएको छ ।
कर्णाली प्रदेशले दुई रजत र दुई कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले तीन कास्य पदक हात पारेको छ। मधेस र सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेको छैन।
प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार मंगलबार भएका खेलमा नेपाल आर्मीले चार, गण्डकीले दुई, १ नम्बर प्रदेशले दुई, सशस्त्र प्रहरी बल र लुम्बिनी प्रदेशले एक\एक स्वर्ण जितेका थिए ।
प्रतियोगिताका पुरुष एकल स्पाइरिङ र पुरुष\महिला टिम स्पाइरिङका खेल बुधबार बिहानदेखि खेलाउने आईटीएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिए।
