शिवराजमा डेंगु रोग सम्बन्धी सचेत गराउन अन्तरक्रिया

सेयर गर्नुहोस

दिपक खडका, कपिलवस्तु ।
देशभर डेंगु रोगका बिरामीको संख्यामा बृद्धि भइरहँदा शिवराज नगरपालिकाले डेंगु रोग सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले डेंगु रोग नियन्त्रण तथा रोकथाम गर्नका लागि सचेतनामुलक अन्तरक्रिया गरिएको जनाएको छ । मंगलबार नगरपालिकाले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र नगरका वडा अध्यक्ष लगायत सरोकारवालाबीच डेंगु रोग सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

किटजन्य रोग बारे समुदायमा जनचेतना जगाउने, आवश्यक क्षमता अभिवृद्धि गर्ने र अभिमुखीकरणा गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको नगरले जनाएको छ । आफ्नो वडामा र आफ्नो कार्यक्रम क्षेत्रभित्रका घरहरुमा लामखुट्टे प्रजनन गर्ने स्थान समुदायलाई जानकारी गराउने र लामखुट्टे प्रजनन गर्ने तथा उक्त स्थानमा पाइने लार्भा नष्ट गर्ने जानकारी गराउने योजना रहेको जनाइएको छ ।
प्रत्येक घरमा लामखुट्टेको लामखुट्टेको प्रजनन गर्ने, खास गरि डेंगु रोग सार्ने लामखुट्टेको आनीबानी बारे जानकारी गराउने नगरपालिकाले जनाएको छ । समुदायलाई डेँगु बारे दिइएको जानकारी अनुसार गरे, नगरेको एकिन गर्ने र नगरेको भए पुनः जानकारी गराउने कार्यक्रम गर्ने जनाइएको छ ।

शिवराज नगर प्रमुख अजय थापाले डेंगु रोग नियन्त्रणका लागि नागरिकले आफै सचेत हुनुपर्ने बताएका छन् । उनले नगरपालिकाले यो डेंगु रोग नियन्त्रणको अभियान चलाइ रहँदा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा लाग्न अनुरोधसमेत गरे । नगर प्रमुख थापाले बजार क्षेत्र र ग्रामिण क्षेत्रको प्रमुख ठाउँमा डेंगु रोग बारे सचेतना फैलाउन अभियान चलाउने जनाए । यस डेंगु रोग नियन्त्रणका लागि सबै स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मी लगायत सबैले यस अभियानलाई सफल बनाउन उनले आग्रहसमेत गरे ।

स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले डेंगु सम्भावित क्षेत्र खोजी गरि योजनाबद्ध रुपमा अगाडी बढ्ने बताए । उनले नगरको वडा नम्बर १, ३ र ५ मा डेंगु रोग संक्रमितको संख्या बढी रहेको बताउँदै ४ सय ४६ जना जाँच गरिएकोमा १ सय ८९ जनामा पोजेटिभ देखिएको जनाए । उनले बजार क्षेत्र बढी डेंगु रोगका बिरामीको संख्या बढिरहेकोले डेंगुको लार्भा नष्ट गर्न आवश्यक रहेको बताए । डेंगु रोगको लागेको आशंका लागेमा तुरुन्त स्वास्थ संस्था चेक गराउन अनुरोधसमेग गरे ।

फोकल पर्सन उमेश घिमिरेले एडिस एजिप्टाइले डेंगु रोग सार्ने बताउँदै यसले दिउँसो बढी टोक्ने गरेको बताए । उनले डेंगु रोगबाट कसरी बच्ने, बचाउने, नियन्त्रण गर्ने, डेंगु रोगको लक्षण, डेंगुले रोग सर्ने, सार्ने अवस्था उपचारका लागि नागरिकलाई कसरी सचेत गराउने भन्ने बारेमा घिमिरे प्रशिक्षण दिएका थिए ।

Facebook Comments Box