ओलीको हुकुम पालना नगर्ने एमालेका ५ उम्मेदवारलाई कारबाही, सयौँले छोडे पार्टी

सेयर गर्नुहोस

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशन उल्लङ्घन गर्ने पार्टीका पाँच जना उम्मेदवारलाई पार्टीबाट निष्कासन गरिएको छ। एमालेमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरिएको हो।

सुदूरपश्चिम प्रदेश कमिटी सदस्य द्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन्।

उनका अनुसार प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए।

एमालेका शक्तिशाली नेता भीम रावल र उनको समूहका नेताहरूलाई टिकट नदिएपछि सुदूरपश्चिममा ठूलो विद्रोह भएको छ। एमालेका करिब सयभन्दा बढी नेता-कार्यकर्ताहरुले एमाले परित्याग गरेका छन्। एमालेमा रहेर ओलीको हुकुमी शैलीमा रहन नसक्ने भन्दै स्वेच्छाचारिताविरुद्ध विद्रोह गरेको भन्दै एमालेका नेता-कार्यकर्ताहरुले एमाले परित्याग गरेका हुन्।

Facebook Comments Box