माओ, तेङ र चियाङको हाइटमा पुगेका सी तेस्रो कार्यकालको तयारीमा, टाउको दुखाइ बन्दै खराब अर्थतन्त्र

सेयर गर्नुहोस

काठमाडौं । चीनका राष्ट्रपति तथा सत्तारुढ दर चिनियाँ कम्प्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङ तेस्रो पटक राष्ट्रपति बन्ने अनुमान पछिल्लो समय बढेको छ । अहिले चलिरहेको कम्युनिष्ट पार्टीको २० औं अधिवेशनले उनलाई तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बनाउने अपेक्षा चुलिएको छ ।

सीपीसीमा ९ करोड ६० लाख भन्दा धेरै सदस्यहरू छन् । सीपीसीको राजनीतिक संरचनामा केही मात्रै पार्टीको शीर्ष स्थानमा पुगेका छन् । यीमध्ये पनि पार्टीको पदानुक्रममा माओ त्सेतुङ, तेङ सियाफिङ र चियाङ त्सेमिन मात्रै पार्टीको कोर नेतामा गनिएका छन् । हालै मात्रै यो सूचिमा राष्ट्रपति सी चिनफिङको नाम थपिएको छ । अझ केहीले त सीलाई माओकै दर्जा दिइनु पर्ने बताइरहेका छन् ।

उनलाई नयाँ माओ भन्न थालिएको छ । यही हप्ता ग्रेट हल अफ द पिपुल्समा भइरहेको सीपीसीको २० औं अधिवेशन सिलाई तेस्रो कार्यकाल त दिने बताइएकाे छ । यसले उनलाई माओ पछिको पार्टीको शक्तिशाली नेतासमेत बनाउनेछ । सन् १९७६ मा मृत्यु हुनु अघि माओले २७ वर्षसम्म आफ्नो राज चलाएका थिए । सीलाई माओकै स्थानमा उकाल्ने परियोजना दशक लामो भएको विश्लेषण गरिएको छ । माओको विरासत क्रान्ति थियो, तेङको सुधार र अर्थतन्त्रको उदारीकरण थियो भने सीको विरासत राष्ट्रिय कायाकल्प हो ।

सीलाई शक्तिशाली बनाउनेबारे पार्टी नेतृत्वमा अहिले कतैबाट पनि विरोध नभएको विश्लेषणहरू गरिएका छन् । चीनमा सीबारे नराम्रो वा नकारात्मक कुरा गर्नेहरू हर कोही समस्यामा पर्ने गरेका छन् । त्यही भएर पनि कसैले विरोध नगरेको हुन सक्ने अमेरिकामा गुइलफोर्ड कलेजमा राजनीति विज्ञानका प्राध्यापक सुइची कुओ भन्छन् । सीलाई सीपीसीको ‘कोर’ नेताको रुपमा पहिचान गर्नु भनेको विद्यमान पार्टी सदस्य, पार्टीका दिग्गज नेता र शक्तिशाली सेनासँग उनको गहिरो सम्बन्धलाई उजागर गरिरहेको छ ।

हरेक पाँच वर्षमा हुने पार्टी अधिवेशनमा सीले पार्टीको महासचिव र केन्द्रीय सेना आयोगको अध्यक्षका दुई पदलाई कायमै राख्ने सम्भावना छ भने सन् २०२३ मा हुने न्याशनल पिपल्स कङ्ग्रेसका बेला देशको राष्ट्रपतिको पदलाई। आफ्नो तेस्रो पाँच वर्षे कार्यकालमा चीनलाई अझ बढी सर्वसत्तावादी राजनीतिक अडान तर्फ धकेलेर लैजाने सम्भावना भएको केही विश्लेषकहरुले बताइरहेका छन् ।

सी नेतृत्वको चीन सर्वसत्तावादी दिशातर्फ बढिरहेको लण्डन विश्वविद्यालयका स्कूल अफ ओरिएन्टल एण्ड अफ्रीकन स्टडीज सोएसका प्राध्यापक स्टिभ त्साङले भनेका छन् । ‘माओको नेतृत्वका बेला चीन पूर्ण सर्वसत्तावादी स्वरूपमा थियो अहिले नै त्यसो भैहालेको भने छैन तर त्यो दिशा तर्फ अघि चैँ बढिरहेको देखिन्छ।’ उनले भने । सीको कार्यकालमा चिनियाँ अधिकारीहरूले अर्थतन्त्रका कतिपय क्षेत्रका शक्तिशाली कम्पनीहरूमाथि कारबाही तीव्र पारेका छन् ।

सीसामु रहेका आर्थिक तथा अन्य चुनौतीहरु

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण विरुद्ध सरकारले लिएको शून्य सहनशीलताको नीति, बढ्दो महँगी र घरजग्ग्गा क्षेत्रमा देखिएको संकटलगायत आर्थिक चुनौती उनी सामु छ । कोभिडका कारण बढेको विश्वव्यापी महँगी युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण झनै बढेको छ । यस्तोमा विश्वभर ब्याजदर बढाउने होडबाजी चलिरहँदा विश्व अर्थतन्त्र मन्दीमा जाने खतरा बढेको छ ।

सी भन्दा पहिलेका राष्ट्रपतिहरु चियाङ त्सेमिन र हु चिन्ताओका पालामा चीनको आर्थिक वृद्धिदर उच्च थियो । त्यति बेलाको तुलनामा अहिले चीनको आर्थिक वृद्धिदर निकै कम छ । आगामी पाँच वर्षको आर्थिक प्रदर्शन अहिलेको भन्दा कमजोर वा खराब हुन सक्ने आँकलन बढिरहेको छ । यसले सीका निम्ति गम्भीर राजनीतिक संकट उत्पन्न गराइदिने आकलनहरू बढेका छन् ।

सीको विरासत उनले के गर्छन् भन्नेमा मात्रै निर्भर छैन । उनले चीनको कायाकल्पका लागि लिएको नीतिलाई विश्वले कसरी हेर्न भन्ने कुराले पनि यसमा महत्व राख्छ । सिले ताइवानलाई चीनमा गाभ्ने वाचा गरेका छन् । उनको यो वाचाले राष्ट्रिय कायाकल्प को उनको विरासतलाई सापेक्ष मान बनाउन सक्छ । सीसामु सुस्ताइरहेको अर्थतन्त्र र हालै ल्याइएको ‘विश्वव्यापी सुरक्षा पहल’को कार्यान्वयन गर्ने ठूलो चुनौती रहेको टेक्सस विश्वविद्यालयमा एशिया नीति कार्यक्रम निर्देशक शिना चेष्टनट ग्रेइटेन्स बताउँछिन् ।

विश्वव्यापी सुरक्षा पहल’लाई चीनको सुरक्षा बढाउने गरी कार्यान्वयन गर्नु पनि सीलाई चुनौती हुने बताइएको छ । सीसामु आर्थिक र विदेशी नीतिका चुनौती पनि छन् । एजेन्सीहरुको सहयोगमा

Facebook Comments Box