विप्लवको महाधिवेशन आज सकिँदै
काठमाडौं। नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाको नौ महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ । गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको महाधिवेशन हप्ता दिन लगाएर सकिन लागेको हो ।
पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली लगायत नेताहरू पार्टी विभाजन गरेर गएपछि पहिलो पटक महाधिवेशन भएको हो । विप्लव नेतृत्वको नेकपाले आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग नलिने नीति अख्तियार गरेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए । ‘चुनावमा भाग लिने/नलिने कार्यनीतिक सवाल हो । गत स्थानीय चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारी दिई चुनावमा भाग लिइयो । अब हुने चुनावमा भाग नलिने बहिस्कार गर्ने भन्ने छ,’ ती प्रतिनिधिले भने । बैठकमा विप्लवले १२० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेको ती नेताले बताए ।
प्रतिवेदनमा कुनै दल वा देशलाई इंगित गरेर आरोपित नगरिएको बताएको छ । ‘महासचिव कमरेडले कुनै दल वा देशलाई कुनै टिप्पणी गर्नु भएको छैन । कांग्रेस,एमाले माओवादी लगायत संसदवादी दलहरू एउटै हुन् । सबै दल खराब छन् त्यसभित्र इमानदार क्रान्तिकारी र परिवर्तनशील व्यक्तिहरू छन् । त्यस्ता व्यक्तिहरूलाई समेटेर संगठित गर्नुपर्छ’ ती नेताले भने । सबै पार्टीभित्रका इमानदार परिवर्तन पक्षधर नेता कार्यकर्तालाई समेटेर वैज्ञानिक समाजवाद निर्माणमा जुट्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । पहिले जस्तै पार्टी विशेष र देशलाई गद्दार घोषणा गर्नुका साथै कुनै शब्दद्वारा विप्लवले टिप्पणी गरेका छैनन् । महाधिवेशनबाट महासचिव सहित सचिवालय, स्थायी समिति र केन्द्रीय समिति चयन गरिने भएको छ । शिवगढीमा भएको महाधिवेशनमा ५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।
