आउँदाे चुनावलाई सामान्य लिन हुँदैन, प्रतिगमनकाे खतरा रहँदासम्म गठबन्धन : प्रचण्ड
काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारूढ गठबन्धन भएको दाबी गर्दै उहाँले विजयी गराउनुपर्ने बताउनुभयो ।
सत्तारूढ गठबन्धनले आज मङ्गलवार ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आउँदो चुनावलाई सामान्यरूपमा लिन नहुने बताउनुभयो । चुनावमा प्रष्टरूपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उहाँले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।’
अध्यक्ष प्रचण्डले सत्तारूढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको चुनाव चिह्नमा मतदान गर्न पनि आग्रह गर्नुभयो । चुनावपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने उहाँको जिकिर थियो ।
