थुनुवा छुटाइदिने भन्दै रकम असुल्ने एकजना पक्राउ

सेयर गर्नुहोस

दाङ : थुनुवा छुटाइदिने भन्दै रकम लिने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१४ गोठुवा बस्ने २० वर्षीय प्रतीक बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनलाई प्युठानको प्यूठान नगरपालिका-७ बिजुवार बजारमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

प्रहरीका अनुसार बस्नेतलाई गत साउन १७ गते सार्वजनिक कसुर मुद्दामा जिप्रका दाङले पक्राउ गरेर ल्याएको थियो। हिरासतमै रहेका बस्नेतले घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने अजित पुनमगरसहित ३ जना व्यक्तिहरूसँग चिनजान गरेका थिए।

उनी गत भदौ ८ गते हिरासतबाट छुटेर गएपछि उनीहरूका अभिभावकको फोन नम्बर मागी आफू जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा शाखाको प्रहरी कर्मचारी भएको भनेर फोन गरेका थिए। उनले छोराहरूलाई छुटाई दिने भनेर झूटा आश्वासन दिई हिरासतमा रहेका पुनमगरकी आमाबाट ५० हजार रुपैयाँ लिएर फरार भएको प्रवक्ता गौतमले जानकारी दिए।

उनलाई खोजतलास गर्दै जाँदा प्यूठान नगरपालिका-७ बिजुवार बजारमा लुकीछिपी बसेको भनी सूचना आएपछि इलाका प्रहरी कार्यालय बिजुवार प्रहरीसँग समन्वय गरी पक्राउ गरी जिप्रका दाङमा ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box