पाकिस्तानमा राष्ट्रिय संकटकाे घाेषणा

सेयर गर्नुहोस

पछिल्लो समयमा आएको बाढीपहिरोका घटनामा नौ सय ३७ जनाको मृत्यु भएको छ । तीमध्ये तीन सय ४३ जना बालबालिका छन् ।

पाकिस्तानमा सरकारले राष्ट्रिय संकट घोषणा गरेको छ । लगातार वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिपछि राष्ट्रिय संकट घोषणा गरिएको हो ।

सरकारले राष्ट्रिय संकट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो समयमा आएको बाढीपहिरोका घटनामा नौ सय ३७ जनाको मृत्यु भएको छ । तीमध्ये तीन सय ४३ जना बालबालिका छन् । त्यसैगरी बाढीपहिरोका कारण हजारौँ विस्थापित भएका छन् भने लाखौँ प्रभावित भएका छन् ।

मृत्यु भएकामध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तका छन् । त्यहाँ तीन सय ६ जनाको मृत्यु भएको गृह मन्त्रालले जनाएको छ । बाढीका कारण बालुचिस्तानमा दुई सय ३४, खैबर पख्तुन्ख्वामा एक सय ८५ जना र पन्जाबमा एक सय ६५ जनाको मृत्यु भएको जनाइएको छ । पाकिस्तानमा अहिले अस्वाभाविक रूपमा वर्षा भएको र त्यसको असर पनि अस्वाभाविक नै रहेको अधिकारीहरूले जनाएका छन् ।

प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरणअनुसार सोही अवधिमा अरू एक सय १३ जना घाइते भएका छन् । त्यसैगरी हजारौँ मानिस घरबारविहीन भएका र उनीहरूमध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ । बाढीपहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ ।

Facebook Comments Box