चाडपर्वको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह

सेयर गर्नुहोस

काठमाण्डाै – मुख्य चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता संरक्षण महासङ्घसहित उपभोक्ता अधिकारकर्मीले बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् ।

नेपाली उपभोक्ता महासङ्घले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ । अध्यक्ष चन्द्र साउदले नेपाली उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन् । यस्तै राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले मुख्य चाडपर्व तीज, दशैँ, तिहार छठको मौकामा कालोबजारी बढ्ने जोखिम रहेकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उद्योगी व्यापारीले आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब अरु पसल तथा औषधि पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्यमाथि ठाडो खेलबाड गरेकोतर्फ सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

Facebook Comments Box