बुद्धभूमि-५ का वडाध्यक्ष थापाको उदाहरणीय काम : गरिब, जेहेन्दार विधार्थीलाई शैक्षिक सामग्री
सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ५ का वडा अध्यक्ष रोम बहादुर थापाले गरिब जेहेन्दार विधार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच वडाध्यक्ष थापाले व्यक्तिगत रुपमै १० जना गरिब जेहेन्दार विधार्थीलाई स्कुल ड्रेस र झोला वितरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष थापाले विद्यालयसम्म स्कुल ड्रेस समेत लगाएर आउन नसक्ने अवस्थाका गरिब जेहेन्दार विधार्थीलाई सहयोग स्वरुप स्कुल ड्रेस र झोला वितरण गरेको बताए ।
श्री नेपाल राष्ट्रिय मावि चौरीका ५ जना र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय राजपुरका ५ जना गरि १० जना विद्यार्थीहरुलाई स्कुल ड्रेस र झोला वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका गरिब जेहेन्दार विद्यार्थीलाई एक अक्षय कोष नै स्थापना गरि छात्रवृत्ति वितरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाई छ ।
गरिबी कै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उनले बताए ।
वडाका हरेक बालबालिकालाई शिक्षामा पहुँचको सुनिश्चिता गर्न आफु सदैव लागी रहने जिकीर गर्दै वडाध्यक्ष थापाले यसका लागी विशेष योजनासहित अघि बढ्ने प्रतिवद्धता जनाए ।
यस्तै बालविकास र कक्षा १ का विद्यार्थीहरुलाई टिफिन वितरण गरिएको छ ।
नेपाल राष्ट्रिय मावि चौरीका ५८ जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालय राजपुरका ६२ जना विद्यार्थीलाई टिफिन वितरण गरिएको हो । वडाभित्र रहेका सबै विद्यालयका ४ सय ८० जना विद्यार्थीहरुलाई टिफिन वितरण गर्ने योजना रहेको वडा सचिव निरज थापाले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष रोम बहादुर थापा, वडा सचिव निरज थापा, वडा सदस्यहरु जमिर मुसलमान, तिलकराम यादव, चौरी माविका प्रअ लोकनाथ गौतम, आधारभूत विद्यालय राजपुरका गुणानिधि खनाल लगायतको सहभागिता रहेको थियो ।
