कुलमान घिसिङ : यसकारण नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात नहुन सक्छ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिले तनहुँ जलविद्युत् आयोजना र रघुगंगा जलविद्युत् आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्।
पछिल्लो समय जलविद्युत् आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको उनले बताए। निर्देशक घिसिङले जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत् महँगो हुने प्रस्ट पारे।
नेपालको इनर्जीको स्रोत भनेकै जलविद्युत् भएकाले जलविद्युत् सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने घिसिङको भनाइ छ। घिसिङले जलविद्युत् महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताए।
‘नेपालको इनर्जीको स्रोत भनेकै जलविद्युत् हो। जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्ने कुरा नेपाल सरकारकै गतिविधिले गर्छ। जलविद्युत् सस्तो भयो भने जनताले सस्तोमा पाउँछन्। जलविद्युत् सस्तो भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ। भारतको भन्दा नेपालको जलविद्युत् महँगो भयो भने निर्यात हुँदैन,’ घिसिङले भने,‘त्यसैले नेपालको जलविद्युत् सस्तो बनाउने कि महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ। तनहुँ जलविद्युत् ५० अर्बको परियोजना हो। जसमा करिब ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुपर्यो। त्यस्तै, निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको राम्रो होइन । यो आयोजना महँगो छ।’
