प्रिमियर लिग : म्यानचेस्टर सिटी र न्युकासलकाे बराबरी, चेल्सी लिड्ससँग र वेष्टह्याम ब्राइटनसँग पराजित
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासलले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा सिटी र न्युकासलले ३–३ गोलको बराबरी खेलेका हुन् ।
खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाएको थियो । उसका इल्के गुन्डोगनले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । त्यसपछि न्युकासलका मिगुएल अल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
न्युकासलका कलुम विल्सनले खेलको ३९औँ मिनेटमा र खेलको ५४औँ मिनेटमा केइरन ट्रिपियरले गोल गर्दै न्युकासललाई ३–१ को अग्रता दिलाए । दबाबमा परेको म्यानचेस्टर सिटीका लागि खेलको ६४औँ मिनेटमा अर्लिङ हालाण्डले र ६४औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे । उनको गोलसँगै खेल ३–३ को बराबरीमा रोकियो । बराबरीसँगै ३ खेलमा ७ अङ्क जोडेको सिटी दोस्रो स्थानमा छ भने न्युकासल ५ अङ्क जोडेर छैटौँ स्थानमा छ ।
यस्तै, गएरातिकै अर्को खेलमा लिड्स युनाइटेडले चेल्सीलाई हराएको छ । चेल्सी लिड्सँग ३–० को गोल अन्तरले पराजित भएको हो । लिड्सलाई जिताउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक/एक गोल गरे ।
खेलको ८४औँ मिनेटमा कालिडोउ कोलिबालीले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै ३ खेलमा ७ अङ्क जोडेको लिड्स अङ्क तालिकाको तेस्रो स्थानमा छ । चेल्सी भने १२औँ स्थानमा छ । त्यसैगरी अर्को खेलमा ब्राइटनले वेष्टह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
