चेकजांचको नाममा ट्राफिक प्रहरीको असुली धन्धा

सेयर गर्नुहोस

कपिलवस्तु । सवारी चेकजांचका नाममा कपिलवस्तु ट्राफिकले असुली धन्धा चलाएको छ । जिल्लाका विभिन्न सडक खण्डमा चेक जांचका नाममा सवारी चालक सर्वसाधारणहरुसंग अवैध रुपमा रकम संकलन कार्यमा ट्राफिक प्रहरी खटिने गरेका छन् । नाम सवारी साधन चेक जांच तर काम भने रकमको अवैध असुली रहेको छ ।

विहिवार सांझ मात्रै तौलिहवा लुम्विनी सडक खण्डको दोहनीमा ट्राफिक प्रहरी सहायक निरिक्षक हुमनाथ पौडेलको कमाण्डमा महिला ट्राफिक प्रहरी सहित ३ जनाको टोलीले सर्वसाधारणसंग अवैध असुली गरेका छन् । पकडीबाट तौलिहवा तर्फ आउदै गरेको लु ६८ प ३८३५ नम्बरको मोटरसाईकल चालक अनिल प्रसाद अहिरसंग कागजपत्र नहुंदा ड्युटीमा रहेका उनीहरुले १ सय भा.रु. असुल गरेका छन् ।

चेकजांचका नाममा आम सर्वसाधारणलाई दुख दिन किन अवैध रकम उठाएको भन्दै एक संचारकर्मीले प्रश्न गरे पछि ट्राफिक प्रहरीले बल्ल सो मोटरसाईकलको ५ सय रुपैया राजश्व रसिद काटेको छ । तर मोटर साईकल चालक अहिरले भने सो रकम तिर्न मानेनन् । आफुले कागजपत्र नभएका कारण १ सय रुपैया भा.रु.तिरेर जाने सहमति ट्राफिक प्रहरीसंग भएको थियो, अनि मैले फेरि किन ५ सय रुपैया जरिवाना तिर्ने ? अहिरले भने । यसरी चेकजांचको नाममा उनीहरुको यस्तो असुली धन्धा चलिरहेको छ ।

सो सडक खण्डमा क्षमता भन्दा बढि लोड बोकेर हिड्ने ठुला सवारी साधनहरुलाई भने सेटिंगकै आधारमा सामान्य जरिवाना काटेर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । तर सर्वसाधारणलाई कागज पत्रको बाहनामा दुख दिने, अवैध रकम असुली गर्ने गरेको स्थानीयहरुको ठुलो गुनासो छ ।

चाडवाडका बेला असुरक्षित ढंगले सवारी चलाउने, मापसे गर्ने तथा ट्राफिक नियम उलंघन गर्नेलाई कारवाही गरे पनि चाडवाड मनाउन हिडेका, अस्पताल तथा अन्य अति आवश्यक काममा हिडेका सर्वसाधारणहरुलाई भने विशेष सहयोग गर्नु पर्ने नागरिक अगुवाहरुको माग छ ।

Facebook Comments Box