अपाङ्गता भएकालाई रोजगारी दिने अभियानमा लाग्यो कपिलवस्तु उद्योग बाणिज्य संघ
कपिलवस्तु : कपिलवस्तु उद्योग बाणिज्य संघले रोजगारदाताहरुसंग अपाङ्गता सुनिश्चित रोजगारदाता अभियान सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संघले विहिबार बाणगंगा १ बैरियास्थित मायादेवी रिसोर्टमा फाउण्ड पारियोजनासंगको सहकार्य गर्दै उक्त गोष्ठी सम्पन्न गरेको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका १ का वडाध्यक्ष सन्जु कुमार सारुले सरकारले ‘क’ र ’ख’ श्रेणीका अपाङ्गता भएकालाई मात्र भत्ता उपलब्ध गराउने गरेकोमा आपत्ति जनाए । अपाङ्गताको प्रकृति हेरेर सरकारले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरेको भएता पनि ‘ग’ र ‘घ’ श्रेणीका अपाङ्गता भएकाहरुले राज्यबाट कुनै सेवा सुविधा प्राप्त गर्न नसक्नु दुखद भएको उनको भनाई छ ।
उनले यसको अन्त्य हुन आवश्यक रहेको बताए । उनले हालको वडा नं.१ को वडा कार्यालय अपाङ्गमैत्री नभएकाले अब अपाङ्गमैत्री वडा बनाउन आफु लागेको बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले सिपमार्फत अपाङ्गता भएकालाई रोजगारीको सुनिश्चिता गर्न सकिने बताए । अपाङ्गता भएकाहरुमा विशेष क्षमता हुने भएकाले उनीहरुको उक्त क्षमताको सदुपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन आवश्यक रहेको अध्यक्ष घिमिरेको भनाई छ ।
समाजमा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई माया एवम् स्नेहपुर्ण व्यवहार प्रदर्शन गरि उनीहरुलाई काम गर्न हौसला प्रदान गर्नुपर्ने उनले बताए । अध्यक्ष घिमिरे कपिलवस्तु उद्योग बाणिज्य संघ अपाङ्गता भएकालाई रोजगारको सुनिश्चित गर्न कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
फाउण्ड परियोजना बुटवल कलस्टर म्यानेजर रामदयाल यादवले यस क्षेत्रका उद्योगी व्यावसायीलाई उनीहरुको क्षमता दक्षताका आधारमा रोजगारको अवसर प्रदान गर्न आग्रह गरे । उनले रोजगारदाताहरुको एउटा सानो कदमले अपाङ्गता भएकाहरुको जीवन नै परिवर्तन हुने बताए ।
कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले अपाङ्गता भएकाहरुलाई समाजमा सम्मान पुर्ण व्यवहार गर्न आवश्यक रहेको बताउँदै अपाङ्ग मैत्री संरचना निर्माणमा जोड दिए । उनले फरक क्षमता भएका व्यक्तिमा निहित गुणको प्रयोग गरि व्यवसायीहरुले लाभ हासिल गर्न सक्ने बताए ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका भुतपूर्व अध्यक्ष विष्णु प्रसाद न्यौपाने, उमानाथ पौडेल, कोषाध्यक्ष मोहन न्यौपानेसहित अन्य पदाधिकारी, यस क्षेत्रका उद्योग व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
