परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किँदै, चीनले नेपाललाई १५ अर्ब सहयोग गर्ने

सेयर गर्नुहोस
काठमाडौं :  परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किँदै छन्।
चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन पुगको मन्त्री खड्का आज राति स्वदेश फर्किन लागेका हुन्। हिजो चीनको चिङ्दाओमा विभिन्न शीर्षकमा द्विपक्षीय वार्ता भएको छ।
वार्ताका क्रममा चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।
चीनले काठमाडौँ चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने नेपाली प्रतिनिधिमण्डललाई आश्वासन दिएको छ। नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ।
विदेश मन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुनः सुरु गर्न सक्ने पनि बताएको छ।  द्विपक्षीय वार्तापछि विदेश मन्त्री वाङले परराष्ट्र मन्त्री डा खड्का र नेपाली प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गरेका थिए।
Facebook Comments Box