चन्द्रौटा उद्योग वाणिज्य संघ अध्यक्ष को बन्ला ?
आठ वर्ष सम्म अधिवेशन हुन नसकेको चन्द्रौटा उद्योग वाणिज्य संघ अधिवेशनको तयारीमा जुटेको छ । सङ्घका अध्यक्ष जमसेर अलि मियाले साउन २८ गते साधारण सभा गरी ३१ गते सम्म अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेका छन् ।
अधिवेशनमा निर्वाचन नगराउने सोचमा रहे पनि उम्मेदवारहरूले आफ्नो उम्मेदवारी सार्वजनिक गर्न थालेपछि निर्वाचन हुने सम्भावना देखिन्छ । हाल रहेका पदाधिकारीले चन्द्रौटा उद्योग वाणिज्य सङ्घमा निर्वाचन गराउन नहुने बताएका छन् ।उद्योग वाणिज्य सङ्घमा सहमतिकै आधारमा सबै व्यापारीहरूलाई समावेश गरी समिति बनाउनुपर्ने बताएका छन् । यद्धपी निर्वाचन भएमा केन्द्रीय राजनीति अनुसार गठबन्धन गर्ने तयारी भएको बताइएको छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिरहँदा पारसमणि पाण्डेले पनि अध्यक्षमै दाबी गरेका छन् । अधिकांश व्यापारीहरूले ईश्वरी पाण्डेलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने बताउँदै आएका छन् । हाल रहेका महासचिव नारायण भाटले सहमति गरी सर्वसम्मत रूपमा चयन गर्नुपर्ने बताउनुभयो । संस्थाका विकास चाहाने हो भने निर्वाचन नगरी सहमतिकै आधारमा नयाँ नेतृत्व हुनुपर्ने उहाँले बताउनुभयो ।
यता पारसमणि पाण्डेले सामाजिक सञ्जाल मार्फत ७ बुद्धे योजना सहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।ईश्वरी पाण्डे नेपाली काँग्रेस समर्थक हुन भने पारसमणि पाण्डे एमाले समर्थक हुन । निर्वाचनमा २८३ जना व्यापारी सहभागी हुने छन् ।
