नागरिकता विधेयक पारित भइसकेपछि अब लोसपा नेताहरु रेशम चौधरीसहित कार्यकर्ताको मुद्दा फिर्तामा कसरत गदै

सेयर गर्नुहोस

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा अध्यक्ष ठाकुरले आफ्ना नेता-कार्यकर्ताहरुको रिहाइ गर्न आग्रह गरेका थिए।

नागरिकता विधेयक संसदबाट पारित भइसकेपछि हौसिएको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु नेता-कार्यकर्ताहरुको रिहाइलाई प्रमुख मुद्दा बनाएको छ। सरकारमा सहभागितादेखि चुनावी गठबन्धनको प्रस्ताव पाए पनि ठाकुरले निलम्बित सांसद रेशम चौधरीसहित नेता कार्यकर्ताको मागलाई प्रमुख शर्त बनाएका छन्।

‘प्रधानमन्त्रीजीले यसअघिदेखि नै सरकारमा सहभागी हुने र चुनावी गठबन्धन गर्ने प्रस्ताव गरिरहनुभएको छ। तर यही अवस्थामा हामी सरकारमा सहभागी हुन सक्दैनौं,’ लोसपाका एक नेताले भने, ‘अहिले पनि हाम्रा सांसदहरु, नेताहरु जेलमा छन्। उनीहरुलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी हुने सम्भावना छैन।’

प्रधानमन्त्री देउवालाई पनि अध्यक्ष ठाकुरले आफ्ना मागलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए। ‘हामीलाई सरकारमा सहभागी हुन मन छ। गठबन्धनका लागि पनि हामी सकारात्मक छौं। तर हाम्रा सांसद र नेता-कार्यकर्ताहरुको रिहाइ हुनुपर्‍यो,’ बैठकमा सहभागी ती नेताले भने।

प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पारित भइसकेको र रिहाइका सम्बन्धमा पनि पक्रिया अगाडि बढाइने आश्वासन दिएका थिए। ‘उहाँ (प्रधानमन्त्री)ले सकारात्मक जवाफ दिनुभयो। कानुनी अड्चनका कुराहरु रहेकाले प्रक्रिया पुर्‍याएरमात्र त्यस्ता समस्याहरु समाधान गरिने आश्वासन दिनुभएको छ,’ ती नेताको भनाइ छ।

बैठकमा नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण सहभागी थिए।

लोसपाले दुई महिनाअघि गत जेठ २४ गते प्रधानमन्त्री देउवालाई ११ बुँदे मागसहित ज्ञापन पत्रसमेत बुझाएको थियो। जसमा संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग गरेको थियो।

मधेश आन्दोलन/थरुहट आन्दोलनलगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्न माग गरेको थियो ।

Facebook Comments Box