जापानबाट प्रचण्डले भने – ‘विदेशका नेपालीलाई पनि भोट हाल्न दिने प्रयासमा छौँ’

सेयर गर्नुहोस

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ मा हुने स्थानीय तहको निर्वाचनपछि स्थायी सरकार बन्ने दाबी गरेका छन्।

जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब देशको आर्थिक विकास र सुशासनमा लाग्नुपर्ने बताएका हुन्।

‘मेरो जापान आउने इच्छा पहिलादेखि नै थियो। तर देशको राजनीतिक तीव्रताको कारणले आउन सकेको थिएन। अहिले राजनीतिक स्थायित्वमा केन्द्रित छ। अब प्रदेश र संघको निर्वाचन हुँदैन’ उनले भने, ‘स्थिर र बलियो सरकार बन्छ। आर्थिक विकासलाई प्राथामिकता राखेर लान्छ। विकास र सुशासनलाई प्राथामिकता दिन्छौँ।’

उनले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न दिनको लागि कानुनमा संशोधनका प्रयास भइरहेको बताए। यस्तै, उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग आफ्नो नजिकको सम्बन्ध रहेको समेत दाबी गरे।

प्रचण्डले भने, ‘उहाँको निधनअघि विभिन्न रुपमा आफ्नो सम्पर्क र कुराकानीमा हुने गरेको थियो। उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध बनेको थियो। जापानमा आएको बेलामा उहाँसँग भेट्ने र प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्याएको थिएँ। तर, सफल हुन सकेन।’ प्रचण्डले आबेकाे हत्याप्रति दु:ख व्यक्तसमेत गरे।

सरकारले प्रदेश र संघको निर्वाचन आगामी मंसिर ४ गते हुने गरी मिति तोकिसकेको छ।

Facebook Comments Box