कृषि मन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, चांडै मल पाउने
कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।
त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
सो क्रममा नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैसी आयात, उखु तथा कफीको ग्रेमप्लज्म आयात, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रणलगायतका विषयमा पनि कुराकानी भएको कृषि मन्त्रालयले जनाएको छ ।
……..
किसानले भारतबाट मल ल्याउँदा नसमात्न पुलिसलाई निर्देशन दिइयोस्’
एमाले सांसद बृजेशकुमार गुप्ताले नेपालमा रासायनिक मलको हाहाकार भएको बताउँदै किसानलाई दुःख दिने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुप्ताले नेपाललाई कृषि प्रधान देश भनेपनि किसानहरुले मल नपाएको र पानी नपरेका कारण किसान आत्महत्या गर्ने स्थिति रहेको बताए ।
उनले तराईलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे । यस्तै सीमापारी भारतबाट मल ल्याउँदा पुलिसले समातेर दुःख दिने गरेका कारण पुलिसलाई मलखाद ल्याउँदा नसमाउन निर्देशन दिन सरकारलाई आग्रह गरे ।
