कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलब्ध गराएको जग्गाको मुआब्जा पाएनन् स्थानीयले

सेयर गर्नुहोस

धनकुटा – पाख्रीबास नगरपालिका–३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई स्थानीयले उपलब्ध गराएको जग्गाको मुआब्जा पाएका छैनन् ।

पीडितहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुले चार वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको बताएका हुन् । कृषि क्याम्पसको मुआब्जा नपाउनेहरुमा पाख्रीबास नगरपालिका वडा नं. ३ का टायल बहादुर बस्नेतको २४ रोपनी, कृष्ण मोक्तानको ७ रोपनी, जितबहादुर राईको ५ रोपनी, गणेश बस्नेतको २ रोपनी, पवन चौङ्वाङको डेढ रोपनी, गणेश पौडेलको १ रोपनी, मीना पौडेलको १ रोपनी ३ आना र उमा कटुवालको १ रोपनी गरी ८ जनाको करीब ४२ रोपनी अर्थात् ७५ लाख ३७ हजार ५ सय बराबरको जग्गाको मुआब्जा नपाएको पीडितहरुले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र धनमाया वि.क शिक्षा राज्यमन्त्री भएको बेला धनकुटाको पाख्रीबासमा नेपाल सरकारको स्वामित्वमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेजको स्थापना गर्ने निर्णय बमोजिम स्थापना गरिएको थियो । २०७४ साल माघमा कृषि क्याम्पसका लागि जग्गा पास गरेको ५ वर्ष बित्न लागिसकेको छ । तर अहिलेसम्म मुआब्जा नपाएको स्थानीय पीडित कृष्ण मोक्तानले बताउनुभयो ।

कृषि क्याम्पस स्थापनाका लागि आवश्यक सय रोपनी भन्दा बढी जग्गा स्थानीय राजनीतिक दल, बुद्धिजिवी र सामाजिक अगुवाको पहलमा स्थानीय नागरिकले क्याम्पसका लागि जग्गा दिन तयार भएका थिए । पाख्रिबासका स्थानीयले आफ्नो गाउँमा कृषि क्याम्पस स्थापना हुने भएपछि खुसी भएर केहीले निःशुल्क र केहीले थोरै मूल्य लिएर जग्गा उपलब्ध गराएका थिए ।

Facebook Comments Box