भारत सरकारकाे सहयाेगमा निर्मित नमुना विद्यालय हस्तान्तरण

सेयर गर्नुहोस


ताप्लेजुङ । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएकाे छ ।

प्रतिनिधि सभाका माननीय सांसद योगेश भट्टराई र माननीय संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्रा आज भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिनाममा अवस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक,शिक्षिका, अभिभावक, छात्र,छात्रा लगायतको उपस्थिति थियो ।

भारतीय दुतावासकाे विज्ञप्तिका आधारमा यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक भनिएकाे छ ।
विज्ञाप्तिमा ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड १० लाखको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत रहेकाे बताइएकाे छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

Facebook Comments Box