मैनार गाउँमा लिफ्ट सिचाई योजना संचालनमा

कपिलवस्तु चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका ३ मैनारमा लिफ्ट सिचाई योजना संचालनमा आएको छ । मंगलवार लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले स्विच अन गरेर लिफ्ट सिचाई योजनाको उद्धघाटन गर्नुभएको हो ।
योजनाको उद्धघाटन गर्दै केसीले कपिलवस्तुकै दुर्गम क्षेत्रमा रहेको उक्त गाउँमा सिचाईको अभावले खेतियोग्य जमिन बाजो राख्नुपर्ने वाध्यता हटेको बताउनुभयो। मैनार गाउँमा कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने भएकोले यहाँका किसानहरुले सिचाई उपलब्ध भएकोले कृषिमा जोड दिनुपर्ने बताउनुभयो । किसानहरुलाई बाख्रा पालनको लागि उचित ठाउँ रहेको बताउदै कृषि पेशाले यस गाउँका जनताको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नभयो । चौधरी समुदायको बाहुल्यता रहेको मैनार गाउँलाई रमणिय गाउँको रुपमा विकास गर्न सकिने थुप्रै आधारहरु रहेको केसीको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाले मैनार गाउँ पिछडिएको गाउँ रहेकोले यहाँको विकासमा वडाले विशेष प्राथमिकता दिएको बताउनुभयो । शिवराजकै ठुलो सिचाई योजनाको रुपमा मैनारलाई छनोट गरेकोले यसलाई सदुपयोग गर्ने जिम्मा स्थानीयहरुले रहने बताउनुभयो ।
गाउँ जोडने सडकमा पुल निर्माण तथा सडकलाई स्तरउन्नती लगाएत काम भएकोले आगामी दिनमा पनि मैनारको विकासमा निरन्तर हातेमालो गर्ने जनाउनुभयो । मैनार सिचाई लिफ्ट सिचाइ २ करोड १५ लाखको लागतमा सम्पन्न भएको हो । ४५ घरधुरी रहेको मैनार गाउँमा उक्त सिचाई योजनाले ५० हेक्टर जग्गा सिचाई गर्न सकिने सिचाई विकास डिभिजन कार्यालय कपिलवस्तुले जनाएको छ ।
