कृष्णनगर नयां बसपार्क संचालनमा , बिकास काममा सबै मिलेर अघि बढ्न सांसद शाहकाे आग्रह

कपिलवस्तु ।भारतीय सिमासंग सटेकाे कपिलवस्तुको कृष्णनगर बजारमा आज नवनिर्मित बसपार्कको उद्घाटन गरि संचालनमा ल्याइएको छ । जिल्लाको सबैभन्दा पुरानो बजार तथा मुख्य नाकाको रुपमा रहेको कृष्णनगरमा बसपार्क नहुँदा सवारी साधन पार्कीङ्ग गर्न समस्या हुँदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्कीङ्ग स्थल नहुँदा सावरी साधनहरू सडकमै पार्कीङ्ग हुँदै आएको थियो ।
बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात् मात्र यहाँ बसपार्क स्थापना गर्न पाउँदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बसपार्क निर्माणमा आफ्नो सक्दो सहयोग रहनु बताउनुभयो । नगरपालिकाको तर्फबाट विकास निर्माणको कार्य अघि बढिरहेको बताउनुभयो । जग्गाकाे अभावमा बनाउन नसकिएकाे बसपार्क बनेपछि बस व्यवस्थापनमा सजिलाे हुने नगरप्रमुख शाहकाे भनाई छ।
कृष्णनगर विद्युत् कार्यालय अगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरिएको छ । अलिशा सप्लायर्सले बसपार्क सञ्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो । कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा कृष्णनगरमा बसपार्क सञ्चालन गरेको सञ्चालक खानले जानकारी दिनुभयो ।
कृष्णनगर यातायात प्रा.ली. जावेद आलम खानको अध्यक्षमा बसपार्कको उद्घाटन गरिएको हो । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष दधिराम खरेल, समाजसेवी मङ्गल प्रसाद गुप्ता, वडाध्यक्ष संजय गुप्ता, किफायतुल्लह खां , नसरुल्लाह खां,दिनेशचन्द्र गुप्ता, अजय उपाध्याय, मौलाना मकसुद खां नेपाली, तुफेल खान, लगायतको सहभागिता रहेको थियो ।
