१० जिल्लामा ६२ लाख ६३ हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

सेयर गर्नुहोस

काठमाडौं : फागुन २८ गतेबाट १० वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ।

‘१० वटा जिल्लाका ६२ लाख ६३ हजार व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ, जसमा ४७ हजार स्वास्थ्यकर्मी र ८ हजार ८ सय स्वास्थ्य स्वयंसेविका खटिनु हुनेछ’‚ हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय औषधि सेवन अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार अन्तरसंवाद कार्यक्रममा डा. दासले भने।

उनले भने‚ ‘१४ सुरु भएको १४ दिनसम्म औषधि खुवाइ सक्नु पर्छ।’ उनका अनुसार ती जिल्लामा हात्तीपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधि डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल नामक औषधि खुवाइने छ।

अल्बेन्डाजोल नामक औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ। विश्व स्वास्थ्य संगठनले नै यो औषधिलाई हात्तीपाइले रोगविरुद्ध प्रयोगका लागि अनुमति दिएको बताइएको छ।

हात्तीपाइले रोगको जोखिम रहेका पाँच जिल्ला मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा तीन प्रकारको औषधि खुवाइने र झापा, बारा, लमजुङ, पर्वत र बागलुङ जिल्लामा भने दुई प्रकारको औषधि खुवाइने डा. दासले बताए। योपटक हामीले थप एक औषधि थपेका छौँ, तीन प्रकारका औषधि खुवाइने जिल्लामा दुई वर्षमा औषधि कार्यक्रम सकिन्छ’‚ उनले भने।

पहिलो पटक हात्तीपाइलेविरुद्धको औषधि खाँदा धेरैलाई लक्षण देखियो भने अर्को पटक नखानेहरू धेरै भएको समेत उनले बताए। ‘यसको औषधि खाँदा धेरैले रिंगटा लायो, बान्ता भयो भनेर अर्को पटक खानु हुँदैन तर त्यो हैन जसलाई औषधि खाँदा लक्षण देखिएको छ भने बुझ्नु पर्छ किन उसको शरीरमा यसको परजीवी रहेछ’‚ उनले भने।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म विश्वबाटै हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण हुने लक्ष्य लिएको थियो। त्यो सम्भव नभएपछि सन् २०३० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण हुने लक्ष्य सहित यस विरुद्धको औषधि खुवाइँदै आएको छ।

नेपालमा सन् २००३ मा पर्सा जिल्लाबाट हात्तीपाइलेको औषधी खुवाउन सुरु गरिएको थियो।

नेपालमा विगतमा ६३ जिल्लामा हात्तीपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। अहिले ५३ वटा इन्डेमिक जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको डा. दासले बताए।

‘६३ जिल्लामा हात्तीपाइले रोगको जोखिम थियो, २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ, अहिले ४८ वटा इन्डेमिक जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको तर रसुवा जिल्लामा भने हाम्रो कार्यक्रम फेल भएको पछिल्लो समय त्यहाँको अवस्थाले जनाएको छ त्यसैले हामीले छिट्टै पुनः औषधि कार्यक्रम सुरु गर्ने तयारी गरिरहेका छौँ’‚ डा. दासले भने।

कस्ता व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि खान हुँदैन

हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, सुत्केरी भएको एक हप्ता नपुगेका महिलाले खानु हुँदैन।

यस्तै कुनै रोग लागेर ओछ्यान परेका र छारेरोग भएकाहरूले पनि यो औषधि खान नहुने निर्देशक डा. दासले बताए। ‘यो औषधि खाँदा छारे रोग हुँदा शरीरमा जुन कम्पन हुन्छ त्यसलाई झन् बढाउने गर्छ जसले गर्दा छारे रोग पुष्टि भएकाहरूले भने सकेसम्म यो औषधि खानु हुँदैन’‚ उनले भने।

खाली पेटमा पनि यो औषधि खानु हुँदैन। व्यक्तिको उचाइका आधारमा हात्तीपाइलेविरुद्धको औषधिको मात्रा दिने गरिन्छ।

यसका लक्षण

जाडो लाग्ने र काम्ने गरी ज्वरो आउने, शरीरका विभिन्न भागमा गिर्खा आउने र दुख्ने,खुट्टाहरूमा निला काला धर्सा देखापर्ने महिलामा स्तन सुन्निने, गिर्खा आउने र योनि सुन्निने, समय बित्दै गएपछि खुट्टा सुन्निएर हात्तीका जस्ता ठूला हुने, पिसाबको रङ सेतो हुने, पुरुषका अण्डकोष ठूलो हुने अथवा हाइड्रोसिल हुने हात्तीपाइलेको लक्षण रहेको समेत डा. दासले बताए।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा हात्तीपाइले संक्रमितको संख्या १२ करोड र अंगभंग भएकाको संख्या ४ करोड छ। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशियाका ११ देशमध्ये बंगलादेश, नेपाल, भारत, म्यान्मा, थाइल्याण्ड, श्रीलंका, माल्दिभ्स, इन्डोनेशिया र पूर्वी टिमोर गरी ९ देशमा उक्त रोगको जोखिम देखिएको छ । ५ वर्षसम्म लगातार हात्तीपाइलेको औषधि खाए समुदायमा यसको संक्रमण कम हुने विश्व स्वास्थ्य संगठनको सुझाव छ।

Facebook Comments Box