दैनिक इनर्वा स्टेशनबाट कुर्थासम्म रेल चल्ने

सेयर गर्नुहोस

जनकपुरधाम : करिब १८ महिनादेखि त्रिपालमा थन्किएको रेल आइतबारदेखि गुड्न थालेको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार इनर्वा स्टेशनबाट कुर्था स्टेशनसम्म ३४.९ किलोमिटरको यात्रा तय गरेको रेललाई औपचारिक उद्घाटन नभएसम्म यात्रुविना दैनिक एकपटक सञ्चालन गरिने जानकारी दिए।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भएको जयनगर-बिजलपुरा-बर्दिबाससम्मको ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर-कुर्थासम्म रेल चलेको हो।

भारतबाट ८४ करोडमा खरिद गरिएका दुई सेट डेमो रेल सञ्चालन हालका लागि भारतकै चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएलसँग द्विपक्षीय ‘जीटुजी’ सम्झौता भएको महाप्रबन्धक झाले जानकारी दिए।

रेल सञ्चालनका लागि २६ भारतीय कर्मचारीलाई ल्याइने तयारी गरिएको र तीमध्ये चालकसहित १४ जना हाल आइसकेका छन्।

हाललाई नेपाली पक्षबाट ५९ जना कर्मचारी भर्ना गरिएको छ। तीमध्ये २२ वटा गेटका लागि २५ जना गेटम्यान, की म्यान, प्वाइन्ट मेन, गेंगम्यान, गेंगम्यान इन्चार्ज, टिकट चेक गर्ने दुईजना टी.टी. र तीनजना स्टेशन मास्टर रहेको झाले बताए।

लामो समयदेखि थन्किएको हुँदा रेलका मेशिनरी पार्ट सञ्चालनमा समस्या आउन सक्ने हुनाले प्राविधिक चेकजाँचका लागि बिनायात्री केही दिन रेल चलाउन लागेका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीनपटक सेवा सञ्चालन सुरु हुनेछ।

औपचारिकरूपमा उद्घाटन भएपछि यात्रु ओसारपोसार गर्नुपर्ने हुन्छ र त्यस्ता वेला कुनै समस्या आएर रेल बन्द भयो भने निकै असहज हुने हुँदा पहिला केही दिन चलाएर जाँच गर्न लागेको महाप्रबन्धक झाले बताए।

औपचारिक उद्घाटनका लागि फागुनको दोस्रो साताको समय दिइएको छ। अबको केही दिनमै रेलमा यात्रा गर्ने सबैको सपना पूरा हुनेछ।

एकपटकमा १३ सय यात्री ओसारपसार गर्न सकिने क्षमता रहेको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले आइतबारदेखि यात्रुविनाको रेल दैनिक एकपटक सञ्चालन भएको बताए। झाले दैनिक बिहान १० बजेदेखि इनर्वा स्टेशनबाट कुर्थासम्म रेल चल्ने जानकारी दिए।

रेल सञ्चालन हुने भएपछि कब्जा गरिएका ठाउँ खाली गराइएको हो। लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ।

Facebook Comments Box