दलित समुदायका व्यक्तिहरूमाथि अझै पनि कुनै न कुनै रूपको विभेद भइरहेको छ : दलित आयाेग

सेयर गर्नुहोस


काठमाडौ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायले भोगेका उत्पीडनको सम्बन्धमा समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताएका छन्। बिहीबार आयोगका पदाधिकारीको एक वर्ष अवधि पुगेको अवसरमा कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले यस्तो बताएका हुन्।

दलित समुदायका व्यक्तिहरूमाथि अझै पनि कुनै न कुनै रूपको विभेद भइरहेको उनले उल्लेख गरे। दलित समुदायमाथि हुने विभेदका कारण राज्यले नै घाटा बेहोर्नुपरेको भन्दै उनले यस विषयमा देश, विदेशका विश्वविद्यालयका प्राध्यापक र समाजशास्त्रीहरूको संलग्नतामा अध्ययन हुनुपर्नेमा जोड दिए।

‘यो अपमान, घृणा, तिरस्कार र बहिष्करणको जुन लामो वृतान्त छ, यसको समाजशास्त्रीय अध्ययन हुनुपर्छ भन्ने आयोगको धारणा छ। हामी समाजशास्त्रीहरूलाई, त्रिभुवन विश्वविद्यालय, विश्वका थुप्रै अरू विश्वविद्यालयका प्राध्यापकहरूलाई समेत ल्याएर यसको अध्ययन गराइनुपर्छ कि यसले देशको कुल उत्पादनमा कति घाटा पुर्यायो, कति नोक्सान पुर्यायो ? सबै हाम्रा समुदायका मानिसहरूले विभेद भोग्नुपरेको छ। विभिन्न लक्षणहरू अभिव्यक्त गरेर विभेद गर्छ पीडकले। यसको समाजशास्त्रीय अध्ययन हुनुपर्छ,’ विश्वकर्माले भने।

Facebook Comments Box