सर्लाहीमा लागुऔषध नाइट्राभेट बरामद

सेयर गर्नुहोस

सर्लाही : सर्लाहीको बरहथवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ।

आज दिउँसो बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट सशस्त्र प्रहरी सुरक्षाबेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीले ४० वटा प्याकेटबाट १२ सय थान नाइट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको हो।

बोरामा प्याक गरेर मोटरसाइकलको पछाडि राखेर तस्करी गर्दै गरेको अवस्थामा लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाले जनकारी दिए।

गस्ती टोलीले तस्करीमा प्रयोग भएको ना ५५ प ९२८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

लागुऔषध तस्करी गर्दै गरेका तस्कर भने गस्ती टोलीलाई देख्नेबित्तिकै फरार भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी खनियाले बताए।

बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लामा पछिल्लो समय लागुऔषधको कारोवारसँगै दुर्व्यसनी समेत बढेको प्रहरीको अनुमान छ।

Facebook Comments Box