राष्ट्रपति शैक्षिक सुधारको नाममा कम्प्युटरसहित शैक्षिक सामग्रीको व्यापार गर्ने एक जना पक्राउ

बर्दिया – राष्ट्रपति शैक्षिक सुधारको नाममा ब्यानर देखाएर अफवाह फैलाउँदै शैक्षिक सामग्री बिक्री गर्ने एक जना पक्राउ परेका छन् । बर्दियाका विद्यालय र विभिन्न संघ संस्थालाई ५० हजार रुपैयाँमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्मार्टबोर्ड, सीसीटीभी, पेनड्राइभ लगायतका समाग्री बिक्री वितरण गर्ने क्रममा सामाग्रीसहित बर्दिया प्रहरीले पोखरा महानगरपालिका–२५ का ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका-६ को बंगलामुखी माध्यमिक विद्यालय परिसरबाट साइबर एण्ड लाइब्रेरी नामक प्रोजेक्ट मार्फत सामाग्रीहरु बिक्री वितरण भैरहेको अवस्थामा सामाग्रीसहित उनलाई पक्राउ गरेको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो । बरालले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरेर तथा लुम्बीनी प्रदेशका सञ्चारमन्त्री र बर्दियाका सासंदको नाम प्रयोग गरेर गलत ढंगबाट ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रविधिसँग जानकार नभएका विद्यालय र केही संस्थालाई भ्रममा पारि ५० प्रतिशत भन्दा बढी छुटमा ब्राण्डेड सामानको प्रलोभन देखाइ अति न्यून गुणस्तरका सामाग्रीहरु उच्च मूल्यमा बिक्री गरेको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।
पक्राउ परेका प्रकाश बराल क्षेत्रीको साथबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका ३ थान चेक, साइबर एण्ड लाइब्रेरीको नाममा रहेको ४ थान बिल बरामद गरिएको छ । यस्तै लोट्टे चोखोपाई र सूर्य चुरोटको कार्टुनभित्र प्याकिङ गरिएका प्रिन्टर ११ थान, मोनिटर १९ थान, सीपीयू १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राइभ १७ थान, क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सीसीटीभी क्यामेरा १८ थान, किबोर्ड १९ थान, नेपाली बृहत शब्दकोष ७ थान र अक्सफोर्ड लगायत विभिन्न शब्दकोष ३० थान र विभिन्न पुस्तक तथा क्यालेण्डर भएको कार्टुन २९ थान बरामद गरिको प्रहरीले जनाएको छ ।
