कपिलवस्तुमा मुख्यमन्त्रीको आडमा वन अधिकृतबाटै अवैध काम

सेयर गर्नुहोस

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको आडमा कपिलवस्तु डिभिजन वनकार्यालयका प्रमुख विजयराज सुवेदीले कानुन विपरीतका कामलाई अगाडि बढाएका छन् । उनले एक वर्षअघिनै खारेज भएको वैज्ञानिक वन व्यवस्थापनका नाममा विभिन्न क्रियाकलाप गरिरहेका छन् । सरकारले ठीक १ वर्षअघि माघ १४ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि-२०७१ खारेज गरेको थियो ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनास बढेको भन्दै २०७७ माघ ११ गतेको मन्त्रिपरिषदले वैज्ञानिक वन व्यवस्थापन खारेज गरेको थियो । खारेजीसंगै देशभर वैज्ञानिक वन व्यवस्थापन कार्य रोकिएको थियो । तर कपिलवस्तुमा भने सरकारको निर्देशनविरुद्ध खारेज भएको वैज्ञानिक वन व्यवस्थापनको कार्य सरकारी पक्षबाटै व्यूँताइएको छ । वैज्ञानिक वन व्यवस्थापनको वकालत गर्दै आएका वन अधिकृत विजयराज सुबेदी कपिलवस्तु आएसंगै यस कार्यलाई बलजफ्ती अघि बढाएको आरोप स्थानीयबाटै आउन थालेको छ ।

प्रदेश सरकारमार्फत वैज्ञानिक वन व्यवस्थापन लागू गराउने तयारी भइरहेको र मुख्यमन्त्रीसमेत यसको पक्षमा रहेको भन्दै उनले वैज्ञानिक वन व्यवस्थापनको कार्य अघि बढाएका हुन् । उनले तिलौराकोट साझेदारी तथा मायादेवी साझेदारी वनलाई वैज्ञानिक वन व्यवस्थापन क्रियाकलाप अन्तरगत बजेट विनियोजन गर्न लगाई क्रियाकलापहरु जारी राखेको सो वनका एक पदाधिकारीले बताए । केही समयअघि प्रदेशको वन मन्त्रालयमा महाशाखा प्रमुख बनेर बसेका सुबेदीले माओवादी नेता तथा मन्त्रीको आडमा यस्ता गतिविधि गर्न दबाव दिएको उनले बताए । ‘म पनि माओवादीको जिम्मेवार निकायमै बसेको छु, वनको समितिमा रहेको छु, डिएफओले कानुन विपरीत धमाधम काम गर्न दबाव दिनुहुन्छ, मुख्यमन्त्री तथा माओवादीका नेताको नाम लिनुहुन्छ, तनाब छ फसिने भैयो कसरी उम्कने ।’ ती सदस्यले बताए ।

तिलौराकोट साझेदारी बनको माथिल्लो क्षेत्रमा हरिया सालका पोल रुख काटेर फायरलाईनमा बनाइएको काठेपुल, अवलोकन गर्दै डिफओ सुवेदी । सरकारले हरिया सालको रुख काट्न प्रतिबन्ध लगाएपनि सुवेदीले वेवास्ता गरि क्रियाकलाप जारी राखेका छन् ।
डिभिजन वन अधिकृत विजयराज सुवेदीले कार्ययोजना नै फेल भएको नयाँ कार्ययोजना स्वीकृत नभएको तिलौराकोट साझेदारी वन, मायादेवी साझेदारी वन तथा दर्जन बढी सामुदायिक वनमा धमाधम काम गराइरहेका छन् । उनले प्रदेश सरकार, वन निर्देशनालय तथा संघको कुनै पनि स्वीकृति लिएका छैनन् ।

तिलौराकोट साझेदारी वनले सय हेक्टर बढी झाडी सफाई गरेको छ । करिब २४ लाख रुपैयाँको झाडी सफाई गर्दा प्रदेश तथा संघमा कुतैपनि स्वीकृति लिइएको छैन । कार्ययोजना फेल भइसकेको तिलौराकोट साझेदारीले वन विभागबाट नयाँ कार्ययोजना स्वीकृत नहँुदासम्म वन संरक्षणबाहेक कुनैपनि कार्य गर्न पाउँदैन । साझेदारीको २०७६ सालमै कार्ययोजना सकिएको थियो । यसैगरी मायादेवी साझेदारी वनले पनि ३४ हेक्टरमा झाडी सफाई गरेको छ । जसमा १७ लाख रुपैयाँ खर्च भएको छ । पटना र पिपरा ब्लक अन्र्तगत थिनिङ्ग कार्यसमेत सुरु भएको र पिपरा ब्लकको ४० हेक्टरमा थिनिङ्ग कार्य सकिएको र बाँकीमा जारी रहेको कर्मचारी श्रोतले बतायो ।

“सरकारले रोकेको भन्छ, डिफओ सरले जर्बजस्ती गर भन्नुहुन्छ, केही आम्दानीको पैसा थियो त्यो पनि सकियो, कार्ययोजना फेल भए बर्बाद हुन्छ” उनले भने । वन क्षेत्रमा फायरलाइन मर्मत, थिनिङ्ग तथा पोल साइजका हरिया रुख काटेर काठेपुल निर्माणसमेत भइरहेको छ । साझेदारी मात्र होइन वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अन्तरगत कार्ययोजना बनेका कपिलवस्तुका पिपराकोठी सामुदायिक वन, बैजलपुर सामुदायिक वन, मनकामना सामुदायिक वनमा समेत प्रतिबन्धित क्रियाकलाप जारी छ । डिफओको निर्देशनमा वैज्ञानिक वन व्यवस्थापनका काम जारी राखिएको वन उपभोक्ता समितिको भनाई छ । संघीय सरकारले दिगो वन व्यवस्थापनको कार्यनीति अन्तरगत कार्यहरु गरिरहेकै बेला खारेज गरिएको वैज्ञानिक वन व्यवस्थापनभित्रका क्रियाकलाप गर्दासमेत सरोकारवाला मौन छ ।


गोरुसिंगेस्थित बनक्षेत्रको घाटगद्धिमा ढुंगा छोप्दै श्रमिक

बन अधिकृत सुवेदीले सरकारको निर्देशन मात्र होइन सार्वजनिक खरिद ऐन मिचेर आर्थिक अनियमिततालाई समेत प्रश्रय दिएको पाइन्छ । तिलौराकोट साझेदारी वनले आ.व. ०७८÷७९ मा विनियोजित गरेको घाटगद्दी व्यवस्थापन शिर्षकमा राखिएको बजेटमा ढुंगा छोप्ने कार्यक्रम गरिएको छ । तर उनले उक्त कार्यको टेन्डर, कोटेशन नगरी आफ्ना निकट कर्मचारीहरुलाई पेश्की लिएर काम गर्न निर्देशन दिएका छन् । चेत्रादेइ घाटगद्दीमा करिब १५ लाख बढीको काम सहायक वन अधिकृत प्रेमीलाल सिंह र गोरुसिंगे घाटगद्दीमा २० लाख बराबरको ढुंगा छोप्ने कार्य सहायक वन अधिकृत बसन्त थापालाई दिइएको छ । प्राविधिक मूल्यांकन तथा प्रदेश स्वीकृति मात्र होइन साझेदारी वन समितिको निर्णयसमेत नगराई बलजफ्ती डिफओ विजय सुवेदीले उक्त कार्य गराएका हुन् । यसैगरी झाडी सफाईमा वन हेरालु, सशस्त्र वन रक्षकलाई प्रयोग गरी झाडी सफाई गरेको तर मजदुर खर्च देखाई रकम हिनामिना गरेको वन रक्षकहरुको गुनासो छ । “सबै काम हामीले गर्यौ, किर्ते डोर हाजिरी भरेर पैसा निकासा गरेर खाए, हामीले केहि पाएनौ” एक वन रक्षकले भने । माओवादी नेताको आडमा वन अधिकृत विजयराज सुवेदीले प्रदेशका विभिन्न जिल्लामा वन अधिकृत तथा अन्य कर्मचारी सरुवामा आतंक मच्चाएको आरोप एक कर्मचारीले लगाएका छन् ।

मायादेवी साझेदारी वन संयोजक अजिज खाँनले वैज्ञानिक वन व्यवस्थापनका काम रोकिए पनि जिल्ला वन कार्यालयबाट आएका बजेटबाट वनका अन्य काम भइरहेको बताए । उनले कानुनभन्दा बाहिर गएर केही काम नगरिएको दावी गर्दै जिल्ला वन कार्यालयको निर्देशनअनुसारका काम मात्र गरिएको बताए । तिलौराकोट साझेदारी वनका संयोजक जयप्रकाश पाण्डेले कार्ययोजना बमोजिम नै काम गर्न नसकिएको स्वीकार गरे । सबै जिल्लाका वन अधिकृतहरुले निर्णय लिन नसकेकोले वनका काम अन्यौलमा परेको बताए ।

यो विषयमा डिभिजनल वन अधिकृत विजयराज सुवेदीलाई सम्पर्क गरेपनि उनले मोबाइल उठाएनन् । जिल्ला वन कार्यालयका प्रवक्ता मदनमोहन सान्डिल्याले नियम विपरीत केही काम नभएको दावी गरे । केही उपभोक्तालाई चित्त नबुझेर भनेको हुनसक्छ, वनका केही काम अगाडि बढेका छैनन्, उनले भने ।

Facebook Comments Box