कृष्णनगरका २ सय ९३ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्बल प्रदान
मनिष गुप्ता, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बिहिवार वडा नं. ६ का २ सय ९३ जना जेष्ठ नागरिकहरुलार्ई कम्बल प्रदान गरि सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सम्मान सामग्री प्रदान गर्दै अहिले यो मौसममा जेष्ठ नागरिकहरुलाई चिसोबाट सुरक्षित हुन केही राहत हुने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरु सु–मार्गदर्शक भएको जिकिर गर्दै सधैँ जेष्ठ नागरिकलाई सम्मान गरी हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बृद्धाहरु शारिरिक, मानसिक रुपमा कमजोर हुँदै जाने भएकोले पारिवारिक माया, ममता र स्याहार–सुसारको पूर्ण जिम्मेवारी परिवारले निर्वाह गर्नुपर्ने बताउनुभयो । शितलहर चलिरहेकोले बृद्धाहरुलाई सकेसम्म बाहिर ननिस्कने, स्वास्थ्यलाई ध्यान दिनसमेत अनुरोध गर्नुभयो ।
वडा अध्यक्ष देवानन्द शुक्लाले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान स्वरुप कम्बल प्रदान गरी बृद्धबृद्धाहरुलाई सम्मान गरिएको बताउनुभयो । उहाँले बृद्धबृद्धाहरुलाई यसरी सँधै सम्मान गरिनुपर्ने बताउँदै अहिले शितलहर बढिरहेकोले जेष्ठ नागरिक र बालबालिकाहरुलाई परिवारले बढी ध्यान पुराउन आग्रहसमेत गर्नुभयो ।

